व्यापारमा लाग्यो ओरालो, जेनजी प्रदर्शनको असरले गाडी बुकिङमा धमाधम रद्द
काठमाडौँ । जेनजी आन्दोलनपछि नेपाली अटो व्यवसायीहरूमा निरासा छाएको छ । गत भदौ २३ र २४ गते भएको विध्वंसकारी जेनजी प्रदर्शनमा देशैभरमा सरकारीदेखि निजी सम्पतिसम्म आगजनी, तोडफोड र लुटपाट भए, जसको गहिरो असर नेपाली अटो बजारमा परेको छ ।
यो वर्ष नाडा र नाइमा दुवैले छुट्टाछुट्टै अटो शो गरेर नेपाली अटो बजारलाई चलायमान र व्यवसायीहरूलाई उत्साहित बनाएका थिए ।
विगतका तुलनामा यो वर्ष नेपाली अटो बजारले गति लिने विश्वास व्यवसायीहरूको थियो, दुई वटा अटो शोले व्यवसायीहरूमा ठुलो आशा सञ्चार गरेको थियो ।
एक्स्पोमा उत्साहपूर्ण रूपमा गाडीहरू बुकिङ भएका थिए । तर जेनजी पुस्ताको आन्दोलनले अटो व्यवसायीहरूको एक महिनाअघिकोे उत्साहलाई निरासामा परिणत गराइदिएको छ । एक महिनाअघि नाडा र नाइमा शोमा बुकिङ गरिएका नयाँ गाडीहरू पनि ग्राहकमाझ पुग्न सकेका छैनन् ।
दसैँ र तिहार पर्व नजिकिँदै गर्दा गाडीको व्यापार बढ्ने गर्छ, तर यो वर्ष अवस्था पहिलेजस्तो छैन । अटो शोमा बुकिङ गरिएका सवारीसाधन ग्राहकहरूले धमाधम रद्द गर्न थालेका छन् ।
अटो शो सकिएसँगै दसैँसम्म बुकिङ भएका गाडीहरू ग्राहकलाई डेलिभरी गर्ने योजनामा व्यवसायीहरू थिए, तर जेनजी प्रदर्शनले अटो बजार नै सुनसान बनाइदियो ।
जेनजी आन्दोलनको ठुलो असर अटो व्यवसायमा परेको नाडाका पूर्वअध्यक्ष धु्रव थापा बताउँछन् । ‘अहिले प्रायःसबै शोरुमहरू सुनसानजस्तै छ । नयाँ सवारी खरिद गर्ने मनस्थितिबाट पछि हटेको देखिन्छ । बुकिङ भएका समेत गाडी क्यान्सिल हुन थाले,’ थापाले भने ।
चलायमान हुन थालिसकेको अटो बजार सुस्ताएकोमा उनले चिन्ता व्यक्त गरे ।
त्यस्तै, नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल पनि अटो मोबाइल बजारमा ठुलो असर परेको बताउँछन् । सबैभन्दा बढी असर चारपाङग्रे गाडीहरूमा परेको उनको भनाइ छ ।
कोषाध्यक्ष मल्लले दसैँको समयमा विगतको तुलनामा करिब ४० प्रतिशतसम्म व्यापार कम हुने देखिएको बताए ।
अटो व्यवसायीहरूले दुई अटो शोमार्फत कम्पनीहरूबिच ‘प्राइस वार’ नै चलाएर भारी छुट तथा अफर योजना ल्याएका थिए । जहाँ गाडी बुकिङ अत्यधिक भएको थियो । व्यवसायीहरूका अनुसार नाइमा र नाडाको आयोजनामा भएको दुई अटो शोमा करिब आठ हजार बढी गाडी बुकिङ भएका थिए । डेलिभरीका लागि गाडी भित्र्याउने क्रम पनि बढ्दो अवस्थामा थियो ।
वर्षभरि सामान्य व्यापार गरी दसैँ तिहार लक्षित उपहार र छुट सुविधा दिएर अधिकतम आम्दानी गर्ने अटो व्यवसायीहरूको मौसममै जेनजी आन्दोलनले चौपट भएको व्यवसायीहरू गुनासो गर्छन् । आन्दोलनमा भौतिक क्षतिभन्दा पनि ज्यान नै जोगाउनुपर्ने परिस्थितिमा आफूहरू पुगेको उनीहरू बताउँछन् ।
व्यापार बढी हुने मौसममा भएका बुकिङसमेत अत्यासलाग्दो ढंगले रद्द हुन थालेपछि दसैँसमेत खल्लो हुने अवस्थामा पुगेकाले लक्ष्मी हुन्डाईका महाप्रबन्धक दीपक थपलिया चिन्ता गर्छन् ।
उनका अनुसार बाढी पहिरोका कारण ढुवानी खर्चसमेत महँगो भएको र गाडीहरूको बुकिङ पनि फिर्ता हुँदा व्यवसायीहरू दोहोरो मारमा परेका छन् । दसैँ सुरु भए पनि अटो बजारमा कुनै उत्साह नभएकाले अटो व्यवसायीहरूका लागि यस वर्ष दसैँ ‘दशा’ बनेको उनले बताए ।
‘अटो बजार शून्यतामा परिणत भएको छ, मानिसहरू निराश भएका छन्,’ उनले भने, ‘अटो शोपछि अटो बजार चलायमान बनाउने आशा थियो, तर नयाँ गाडी खरिद गर्ने मनस्थिति कसैमा देखिएन ।’
आन्दोलनको असर सरकारी कर्मचारी, होटल व्यवसायीमा समेत पुगेको छ, त्यसैले बुकिङ भएका गाडी पनि होल्ड हुनु स्वाभाविक भएको उनले बताए । यो क्रम निरन्तर हुने पनि उनले बताए ।
गत वर्षको तुलनामा यो दसैँमा २० देखि २५ प्रतिशतसम्म व्यापारमा कमी आउने देखिएको उनको अनुमान छ ।
चाडपर्वलक्षित अफर पनि काम लागेन
धेरै कम्पनीहरूले ग्राहक आकर्षित गर्न चाडपर्वलक्षित अफर तथा छुट योजना ल्याएका थिए । केहीले अटो शोमा घोषणा गरिएको अफर तथा छुटलाई निरन्तरता दिएका थिए भने केहीले थप छुट्टै अफर योजना सार्वजनिक गरिसकेका थिए ।
तर जसै आन्दोलन भयो, अफरले कुनै काम गर्ने अवस्था देखिएको छैन ।
मानिसहरू मानसिक र आर्थिक रूपमा शिथिल भएकाले सवारी साधन खरिद पहिलो प्राथमिकतामा नपरेको देखिएको छ । विभिन्न कम्पनीहरूले सवारी खरिदमा एकदेखि चार लाखसम्म नगद छुट दिइरहेका थिए ।