क्षतिग्रस्त हेटौँडाका सरकारी भवनको अवस्था कस्तो छ ?
भदौ २३ र २४ को जेन जी आन्दोलनको क्रममा आगलागी र तोडफोडका कारणले जलेर खण्डहर बनेका भवनहरूको सुरक्षा चुनौतीहरू पहिचानका लागि मूल्यांकन गरिएको हो । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको विज्ञसहितको कार्यदलले शनिबार र आइतबार गरेको भवन संरचनाको प्रारम्भिक मूल्यांकनमा दुई वटा सरकारी कार्यालयका भवन प्रयोग गर्न उपयुक्त नरहेको रिपोर्ट दिएको छ भने अन्यको मर्मतपछि प्रयोग गर्न मिल्ने सुझाव प्राप्त भएको छ ।
मन्त्रालयले हालै सम्पन्न प्राविधिक निरीक्षण अनुसार, सहरी विकास तथा भवन कार्यालय र प्रदेश सभा हललाई ‘रेड स्टिकर’ (उच्च जोखिम)को सूचीमा राखिएको छ । उक्त मूल्यांकनले ती भवनहरूको सम्भावित जोखिमलाई स्पष्ट पारेको छ भने अन्य भवनहरू मध्यम जोखिममा रहेको पाइएको मन्त्रालयका प्रवक्ता भुपेन्द्र यादवले जानकारी दिए । मूल्यांकनमा सबैभन्दा चिन्ताजनक अवस्थामा सहरी विकास तथा भवन कार्यालय र प्रदेश सभा हल देखिएको उनले बताए ।
‘रेड जोन’मा वर्गीकरण गरिनुको अर्थ ती भवनहरूमा संरचनात्मक कमजोरी हुन सक्ने र कुनै पनि प्राकृतिक प्रकोप, विशेषगरी भूकम्पको समयमा ठुलो क्षति हुन सक्ने सम्भावना रहेको उनले औंल्याए । हालैका विरोध प्रदर्शनका क्रममा उक्त भवनहरूमा आगजनी र तोडफोड भएकाले क्षति पुगेको उनले बताए ।
आगजनीबाट जोगिएका संरचनाको पनि प्राविधिक जाँचको प्रतिवेदनका आधारमा मर्मत तथा पुनर्निर्माण अघि बढाइने उनले बताए । उनका अनुसार हेटौंडाका धेरैजसो सरकारी कार्यालयहरू ‘यल्लो स्टिकर’ (मध्यम जोखिम)को श्रेणीमा परेका छन् ।
प्राविधिक टोलीले गरेको निरीक्षण र मूल्यांकनअनुसार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको भवन ‘ग्रीन स्टिकर’ (सुरक्षित) मानिएको छ भने मध्यम जोखिममा पर्ने भवनहरूमा भौतिक पूर्वाधार विकास मन्त्रालय रहेको भवन पनि समावेश गरिएको छ । यल्लो स्टिकर टाँसिएको उक्त भवनमा भौतिक मन्त्रालय सहित खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र श्रम रोजगार तथा यातायात मन्त्रालय रहेका थिए ।
त्यस्तै मुख्यमन्त्री सभा हल, सहकारी तथा गरिबी निवारण मन्त्रालय र प्रमुख सचिवको आवासीय भवन मध्यम जोखिममा रहेका छन् । सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय, बागमती विश्वविद्यालयको बोर्ड अफ ट्रस्टीजको कार्यालय, र प्रदेश सभा सचिवालयका दुई वटा ब्लकहरूमा ‘यल्लो स्टिकर’ टाँसिएको छ । उक्त ब्लकहरूमा क्रमशः नेपाली कांग्रेस, राप्रपा, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका संसदीय दलका कार्यालयहरू रहेका थिए ।