दशैंमा पनि व्यस्त नेपाली खेलकुद
काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको माहोल चलिरहेको बेला नेपाली खेलकुद भने अन्तर्राष्ट्रिय खेलमा व्यस्त रहेको छ ।
यतिबेला एक मात्र नभएर चार फरक खेलका नेपाली खेलाडीहरु अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नका लागि विदेशमा छन् ।
विशेषगरी अहिले नेपालको क्रिकेट टोली सबैभन्दा व्यस्त छ । एक होइन महिला र पुरुष दुवै राष्ट्रिय क्रिकेट टिम अहिले विदेशमा छ ।
क्रिकेटसहित पौडी खेलाडी, अल्ट्रा ट्रेल रनिङका खेलाडी र मोटर स्पोर्ट्सका खेलाडीहरु अहिले नेपालको झण्डा लिएर विदेशमा आफ्नो उपस्थिति जनाइरहेका छन् ।
दशैंका बेला रमझम र रमाइलोको बेला भएपनि नेपाली खेलकुदका लागि भने फरक अनुभव हुनेछ । खेलकुदको सिजन पनि दशैंका बेला हुने भएकोले नेपाली खेलाडीहरुले अन्तर्राष्ट्रिय प्रतियोगिता गर्दा दशैं छाडेर देशका लागि मैदानमा उत्रनुपर्ने हुन्छ ।
खेलाडीहरुको लागि राष्ट्रको झण्डा अंकित जर्सी लगाएर प्रतिस्पर्धा उत्रनु नै दशैंभन्दा ठूलो कुरा हुनेछ । त्यसमा जित हात पार्न सके खेलाडीहरुले नेपाली जनतालाई दशैंमा दिने उपहार जस्तै हुन्छ ।
यस पटक क्रिकेट टोलीका लागि भने संयोग नै बन्यो पुरुष र महिला दुवै टोली अहिले देश बाहिर छन् । उनीहरुका लागि परिवार साथीभाईसँग बसेर रमाइलो गर्ने भन्दा पनि देशका लागि झण्डा बोलेर विपक्षीसँग मैदानमा प्रतिस्पर्धा गर्नु रमाइलो माहोल हुनेछ ।
नेपाली पुरुष क्रिकेट टोली हाल युएईको शारजाहमा छ । जहाँ नेपालले दुई पटकको टी२० विश्वकप विजेता वेष्ट इन्डिजसँग तीन खेलको ऐतिहासिक टी२० सिरिज खेल्नेछ । नेपाल क्रिकेट संघ (क्यान) कै आयोजनामा हुन लागेको यो सिरिज टीयू मैदान पुनर्निमार्णको अवसथ्मा रहेकोले युएईमा हुन लागेको हो ।
त्यसको पहिलो खेल आज शनिवार हुँदैछ । नेपाल र वेष्ट इन्डिजबीच दोस्रो खेल सोमबार र तेस्रो खेल मंगलबार हुनेछ । अर्थात नेपालले दशैंको फुलपाती र अष्टमीको दिन पनि क्रिकेट खेल्नेछ ।
त्यसपछि करिब एक साताको ब्रेक हुनेछ अनि नेपाली टोली उतैबाट आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोट खेल्न ओमान जानेछ । जहाँ नेपालसहित ९ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् र शीर्ष तीन टोली अर्को वर्ष भारत र श्रीलंकामा हुने टी२० विश्वकपमा छनोट हुनेछ ।
वेष्ट इन्डिज विरुद्धको ऐतिहासिक सिरिज जित्दै टी२० विश्वकप छनोटका लागि तयारी गर्ने र तेस्रो पटक टी२० विश्वकपमा छनोट भएर फर्कने लक्ष्यमा नेपाली टोली छ ।
यो सिरिज नेपालीहरूलाई खुसी बनाउने अवसर समेत रहेको कप्तान रोहित पौडेलले बताएका छन् । ‘हाम्रो लागि ऐतिहासिक अवसर त छ नै, नेपालीहरूलाई कसरी खुसी बनाउन सकिन्छ भन्ने अवसर पनि रहेको छ’ उनले भनेका छन् ।
कप्तान रोहितले टी२० विश्वकपमा छनोट भएर नेपाल फर्कने बताएका छन् । ‘सबैजना धेरै उत्साहित हुनुहुन्छ, वेस्ट इन्डिजलाई हराउन सक्यौं भने त्यसले एकदम राम्रो छाप छोड्छ विश्व क्रिकेटमा, सिरिज जितेपछि विश्वकपमा पनि छनोट हुनेछौं’ रोहितले भने ।
यस्तै महिला क्रिकेट टोली हाल मलेसियामा छ । नेपाली टोलीका १४ खेलाडी नै अहिले मलेसियान सुपर वुमन्स सिरिजमा विभिन्न ५ फरक टिममा रहेर खेलिरहेका छन् ।
उक्त सिरिज सकिएपछि नेपाल र मलेसियाको महिला टोलीबीच पाँच खेलको टी२०आई सिरिज हुनेछ ।
नेपाल र मलेसियाबीचको सिरिज असोज १६ देखि २२ गतेसम्म हुनेछ । असोज १६ गते दशैंको मुख्य दिन अर्थात टिकाको दिन हो । यही दिन नेपाली महिला टोली भने नेपालको झण्डा अंकित जर्सी लगाएर मैदान उत्रँदैछ ।
महिला क्रिकेट टिमकी उपकप्तान पूजा महतोले अनलाइनखबरसँगको कुराकानीमा क्रिकेट आफ्नो कर्तव्यका रूपमा रहेकाले चाडपर्वभन्दा पनि खेलहरू महत्वपूर्ण हुने बताएकी थिइन् । उनले चाडपर्वमा सहभागि हुन नपाउनु दु:खद कुरा भएपनि क्रिकेट नै आफूहरुको काम भएकोले खेल महत्वपूर्ण हुने बताइन् ।
यसैगरी नेपालको पौडी टोली यतिबेला११औं एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न भारतको अहमदावादमा छ ।