केपी ओली र रमेश लेखकलाई तत्काल कारबाही गर्न शान्ति समाजको माग
मानव अधिकार तथा शान्ति समाजले गत भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनका क्रममा अन्धाधुन्ध गोली चलाएर निहत्था नागरिकको हत्यामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक मुख्य दोषी रहेको भन्दै कारबाही माग गरेको छ।
आइतबार एक विज्ञप्ति जारी गर्दै समाजले दुवैमाथि कानुनी कारबाही थाल्न र जनधनको अपार क्षति सम्बन्धमा उच्चस्तरीय न्यायिक छानबिन आयोग माग गरेको छ ।
त्यस आन्दोलनका क्रममा राज्यका विभिन्न धरोहरसहित सार्वजनिक सम्पत्ति, प्रेस तथा नागरिकका निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नमाथि पनि दण्डको माग गरिएको छ ।
‘स्मरणीय छ, आन्दोलनरत पक्ष स्वयम्ले घुसपैठका कारण त्यस्ता घटना घटेको बताइसकेको सन्दर्भमा त्यस्ता आपराधिक कृत्यमा संलग्नहरुको पहिचान र कारबाही हुन सकेन भने भविष्यमा त्यो प्रवृत्ति संस्थागत भएर जाने र बारम्बार राष्ट्र र समाजलाई पिरोल्ने खतरा रहेको छ,’ समाजले भनेको छ।
समाजले राज्यको ढुकुटी दोहन गर्दै पूर्वविशिष्टलाई उपलब्ध गराउँदै आएको सेवा-सुविधा कटौती गर्न, ध्वस्त संरचना पुनर्निर्माणका लागि सबै क्षेत्रबाट योगदान र पुनर्निर्माण मन्त्रालय बनाई आगामी दशकलाई पुनर्निर्माण दशक घोषणा गर्न, प्रहरीलगायत नागरिक प्रशासन तत्काल सुचारु गरी सेवा प्रवाह चुस्त दुरुस्त बनाउन भनेको छ ।