दशैं नजिकिएसँगै प्रहरीले सुरु गर्यो हेल्प डेस्क गुल्मीको दर्जन बढी स्थानमा
गुल्मीमा दशैं, तिहार पर्वका बेला यात्रुहरूलाई सुरक्षित यात्राको व्यावस्था मिलाउन नागरिक सहायता कक्षको स्थापना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मी र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले नागरिक सहायता कक्षको स्थापना गरेका हुन् ।
जिल्लाको सदरमुकाम तम्घासको तम्घासको बुढाथोकी बसपार्क र उदिनढुङ्गा बसपार्क, वामी, रिडी बसपार्क, श्रृङ्गासहित विभिन्न १ दर्जन बढी स्थानमा नागरिक सहायता कक्षको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक शंकर नारायणप्रसाद अधिकारीले बताए ।
सहायता कक्षको स्थपाना गर्दै जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले गुल्मीबाट बुटवलको छुट्ने बसको चालकलाई फूल माला लगाएर सुरक्षित यात्राको कामना सहित सुरु गरेको थियो
दशैं तिहारको समयमा बसपार्क क्षेत्रमा अत्यधिक भिड हुने भएकाले नागरिकको सहजताको लागि सहायता कक्ष स्थापना गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
यो अवधिमा जाँच, ओभर लोड र मापसे जाँचलाई कडाइका साथ लैजाने उनले बताए ।
यात्रा गर्दा नागरिकले अनावश्यक सास्ती भोग्नुपर्ने, लुटिने तथा कुटिने चर्को मूल्य तिर्नु पर्ने समेतका घटनालाई मध्यनजर गरी नागरिक सहायता कक्ष स्थापना गरिएको हो ।
सहायता कक्षवाट सबै नागरिकलाई सचेत भएर यात्रा गर्नका लागि जनचेतना फैल्याउने काम प्रहरीले गर्ने प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले बताए ।
सहज र सरल तरिकाबाट यात्राका लागि वातावरण तयार गर्न यात्रु र सम्बन्धित यातायात व्यवसायी संघ, संस्थासंग समन्वय गर्ने काम प्रहरील गर्ने कोइरालाले बताए ।
चाडपर्वका बेला हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण, सवारी दुर्घटना न्यूनिकरण गर्न र सहज यात्राका लागि पनि नागरिक सहायता कक्षबाट काम हुने प्रमुख जिल्ला अधिकारी कोइरालाको भनाइ छ ।
तम्घासको बसपार्कमा स्थापना भएको सहायता कक्षमा चौबिसै घण्टा प्रहरीहरूले सेवा प्रदान गर्नेछ । यात्रुहरूलाई सजग र सुरक्षित यात्राका लागि समय समयमा जनचेतना मूलक सन्देश प्रवाह प्रहरीले गर्नेछ ।
नागरिक सहायता कक्षमा नागरिकले आफ्ना समस्या र गुनासाहरू पनि राख्न सक्नेछन् ।