दशैंघरमा भित्र्याइयो फूलपाती
काठमाडौं। हनुमानढोका दरबारस्थित दसैंघरमा फूलपाती भित्र्याइएको छ। गोरखा दरबारले पठाइएको फूलपाती हर्ष बडाइका साथ भित्र्याइएको हो।
गोरखा दरबारस्थित दसैँघरबाट आजै काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली ल्याइएको थियो। गोरखाको फूलपाती हनुमानढोका भित्र्याएपछि मात्र दशैं घरको सुरुवात हुने धार्मिक विश्वास छ।
गोरखाबाट ल्याइएको फूलपाती वैदिक विधिअनुसार हनुमानढोका दरबारमा भित्र्याइएको हो।
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादसैंको सातौं दिन गोरखा दरबारको दसैंघरबाट फूलपातीसहितको डोली काठमाडौंको हनुमानढोका दरबार पुर्याएर भित्र्याउने प्रचलन रहँदै आएको छ।
गोरखा दरबारको दसैंघरबाट सतिपीपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरूले बोकेर ल्याई त्यहाँबाट हनुमानढोका दरबार पठाउने प्रचलन रहँदै आएको छ। गोरखा दरबारले बिहान साढे सात बजे बाजागाजासहित डोलीमा राखेर फूलपाती निकालेको थियो।
पहिले धादिङको जिवनपुर, नुवाकोट हुँदै हिँडेर फूलपाती हनुमानढोका पुर्याउने प्रचलन थियो। २०६६ सालदेखि भने मोटरबाटोको प्रयोग गर्न थालिएको हो।