जेनजी आन्दोलनका क्रममा जलेका राजस्व र मालपोत कार्यालयमा युवाहरूले गरे सरसफाइ
‘जेनजी’ आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको आन्तरिक राजस्व कार्यालय धनगढीमा युवाहरूले सरसफाइ गरेका छन् । आइतबार बिहानैदेखि स्वतःस्फूर्त रूपमा भेला भएका युवाहरूले कार्यालय परिसरमा जलेर थुप्रिएको फोहोर र खरानी हटाएका हुन्।
धनगढीको चौराहामा रहेको उक्त कार्यालय आन्दोलनका क्रममा आगजनीको चपेटामा परेको थियो । जसका कारण तल्लो र माथिल्लो तला पूर्ण रूपमा ध्वस्त भएका थिए । कार्यालयभित्र रहेका फर्निचर, कागजात र अन्य सामग्री जलेर नष्ट भएका छन् भने विद्युतीय उपकरणहरू काम नलाग्ने अवस्थामा पुगेका छन् ।
बिहान साढे आठ बजेदेखि सुरु भएको सरसफाइमा ‘जेनजी’ अभियानका सदस्य, भायानेटका कर्मचारी तथा अन्य स्थानीय युवाहरूको उल्लेख्य सहभागिता रहेको छ । उनीहरूले बेल्चा र अन्य उपकरणको प्रयोग गरी जलेका सामग्रीको अवशेष र खरानी हटाएर कार्यालयलाई पुनः सञ्चालनयोग्य बनाउन सहयोग गरेका हुन्।