फ्लड लाइट बालेर तुइनखोलाको पहिरो पन्छाइँदै, सडक आजै रातिदेखि खुल्ने
काठमाडौं । फ्लड लाइट जडान गरेर तुइनखोला नजिकै गएको सुक्खा पहिरो पन्छाउने काम भइरहेको छ ।
पूर्ण रूपमा पहिरो हटाएर आजै रातिदेखि आवागमन सञ्चालन गर्ने तयारी स्वरूप फ्लड लाइट बालेर पहिरो पन्छाउने कामलाई निरन्तरता दिइएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
सडक डिभिजन भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले भने, ‘फ्लड लाइट बालेर पहिरो पन्छाउने काम भइरहेको छ । सम्भवतः एक डेढ घण्टामा सडक सञ्चालनमा आउने छ ।’
मुग्लिन-नारायणगढ सडक खण्डको तुइनखोला नजिकै मंगलबार अपरान्ह भयंकर सुक्खा पहिरो खसेको थियो । जसका कारण सडक अवरुद्ध छ ।
सडक पूर्ण रूपमा अवरुद्ध बनेपछि चितवन प्रशासनले वैकल्पिक राजमार्ग प्रयोग गर्न अनुरोध गरेको छ भने अलपत्र परेका यात्रुहरूलाई बसको व्यवस्था गरेर उद्धार गरिरहेको छ ।