जेनजीको एक समूहले बनायो वार्ता टोली, रक्षा बमले भनिन्– मेरो नाम राखेर साथीहरुले गलत गरे
काठमाडौं । जेनजी युवाका केही प्रतिनिधिहरुले सरकारसँग सम्झौता गर्नका लागि भन्दै वार्ता टोली गठन गरेका छन् ।
टोलीमा पुरुषोत्तम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लु गुप्ता, टिकाराम लिम्बु, योग्यता भण्डारी, जेम्स कार्की, कासिफ महम्मद मिया र अर्पित कुवर छन् ।
वार्ता टोलीमा रक्षा बमको पनि नाम उल्लेख भए पनि उनको हस्ताक्षर भने छैन ।
यो टोलीले आन्दोलनरत पक्षको तर्फबाट प्रतिनिधित्व गर्ने गरी नेपालका राष्ट्रपति नेपालका प्रधानमन्त्रीको रोहबरमा वृहत सम्झौता गर्ने निर्णय गरेको छ । उक्त वृहत सम्झौतामा उल्लेख हुने एजेण्डाका विषयमा सम्झौता पत्र समेत तयार पारेर राष्ट्रपति समक्ष पेस गर्ने म्याण्डेड सो वार्ता टोलीले पाएको छ ।
गत भदौ २३ र २४ गते जेनजी युवा पुस्ताको अगुवाइमा भएको आन्दोलन र प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी युवा प्रतिनिधिहरुसँग समेत छलफल गरेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन गरी ताजा जनादेशका लागि फागुन २१ गते आम निर्वाचन घोषणा गरेका छन् ।
जेनजी युवाको अगुवाइमा यति ठूलो राजनीतिक उथलपुथल हुँदा पनि आन्दोलनरत पक्ष र सरकारबीच सम्झौताको दस्ताबेज छैन । सोही सम्झौताको गृहकार्यका लागि जेनजी युवाका केही प्रतिनिधिहरुले शनिबार वार्ता टोली गठन गरेका हुन् ।
वार्ता टोलीको सदस्यको रुपमा रक्षा बमको पनि नाम उल्लेख छ । तर उनले आफ्नो संलग्नता नभएको बताएकी छन् ।
क्षा बमले सामूहिक माग लिएर सरकारसँग छलफलमा जानु लोकतान्त्रिक अधिकार भएको बताएकी छन् । आफू लोकतन्त्रकै पक्षमा रहेको भन्दै उनले वार्ता टोलीको सदस्य भनेर आफ्नो नाम आफूलाई थाहै नदिई राखेर गलत गरेको टिप्पणी गरेकी छन् ।
रक्षा बमले भनिन्– साथीहरुले गलत गरे
‘साथीहरूले मेरो नाम मलाई नै थाहा नदिई जसरी एकतर्फी ढंगले राखेर सार्वजनिक गर्नुभएको छ, त्यो नितान्त गलत गर्नुभएको छ,’ उनले सामाजिक सन्जाल फेसबुकमा लेखेकी छन्, ‘यसैक्रममा त्यहाँ मेरो नाम किन छ भन्ने प्रश्न गर्नको लागि मैले सो समूहका केही साथीहरूसँग हिजो छलफलमा पनि बसे । र स्पष्टसँग ’तपाईंहरूले गलत गर्नुभयो’ भनेर पनि भने ।’
त्यहाँ भएका नामहरू सहितको टोली गठनको प्रकृया र उद्देश्यबारे आफू अनभिज्ञ भएको भन्दै उनले लेखेकी छन्, ‘त्यससँगै सो माइन्युटमा भएका कुनै पनि बुँदा मैले नपढेको जानकारी गराउँछु । त्यसकारण हर–एक बुँदामा पढ्दैनपढी र छलफल नगरी म ऐक्यबद्धता जनाउन नसक्ने कुरामा प्रष्ट छु ।’