‘जेन-जी’ को राष्ट्रिय उद्घोष्: पार्टीको झण्डा छाडेर देशको झण्डा
जेन-जी विद्रोहले नेपालमा ल्याएको नयां परिस्थितिले राजनीतिक चेतनाको ढोका खोल्दै युवा पुस्ता सशक्त रूपमा उदाएको छ । देशव्यापी रूपमा फैलिरहेको यो जागरण अभियानले अहिले सुन्दर नारा र विचारले देशभर फैलिएको लहरले लमजुङ जिल्लालाई पनि छोएको छ । यसै क्रममा, सुन्दरबजार नगरपालिका–२, पाउँदिमा ‘लमजुङ शक्त्ति नेपाल’ नामक अभियानको औपचारिक श्रीगणेश गरेको छ । यो अभियानको उद्घाटन कुनै दलको झण्डा गाडेर होइन, गौरवशाली नेपाली राष्ट्रिय झण्डा फहराएर र सेवाको प्रतीक पानी वितरण गरेर गरिएको छ, जसले जिल्लाको राजनीतिक परिदृश्यमा एक नयाँ र अर्थपूर्ण लहर ल्याउने अपेक्षा रहेको छ।
उक्त कार्यक्रमलाई संयोजन गर्दै, स्वतन्त्र युवा राजन परियारले युवाहरूको यो कदमको मर्म स्पष्ट पार्नुभयो । उहाँले उद्घोष गर्नुभयो, “राष्ट्रको झण्डा गाडेर हामीले स्पष्ट सन्देश दिएका छौं-अब कुनै पार्टी विशेषको झण्डाको पछि लाग्ने परम्पराको अन्त्य भएको छ । यो समय व्यक्तिगत स्वार्थ र दलगत राजनीतिभन्दा माथि उठेर देशको हितमा एकजुट हुने समय हो।”
राष्ट्रिय झण्डा गाडिएको स्थलमा उपस्थित उत्सुक र उत्साही युवाहरूले सम्पूर्ण सहभागीलाई शान्तिपूर्ण रूपमा पानी वितरण गरेर अभियानको थालनी गरे । यो कार्यलाई उनीहरूले केवल कार्यक्रमको औपचारिकता नभई सेवा, सम्मान र सद्भावनाको प्रतीकका रूपमा प्रस्तुत गरेका छन् । सहभागीहरूले यस ‘लमजुङ शक्त्ति नेपाल’ लाई केवल राजनीतिक परिवर्तनको आन्दोलन नभएर नैतिक पुनर्जागरण र सामाजिक रूपान्तरणको सशक्त अभियान भएको व्याख्या गरेका छन् ।
यो अभियानमा देशभित्रका युवाहरू मात्र होइनन्, विश्वका विभिन्न कुनाबाट पनि लमजुङेली युवाहरूको अभूतपूर्व साथ र सहयोग प्राप्त भइरहेको छ। विदेशमा रहेका अनसुल लोहनी र दिपु थापा लगायतका युवाहरूले अभियानप्रति गहिरो चासो राख्दै विचार, मार्गदर्शनका साथै अभियालाई प्रभावकारी बनाउन हरदम प्रयास गरिरहेका छन । उनीहरूले सामूहिक रूपमा सन्देश दिएका छन्, “हामी भौगोलिक रूपमा जहाँ भए पनि, लमजुङको विकास र राष्ट्रको उन्नतिको साझा लक्ष्यका लागि हामी एकजुट छौं।” यसले यो आन्दोलनको दायरा र गाम्भीर्यलाई अझ फराकिलो बनाएको छ ।
कार्यक्रममा भेला भएका चेतनामय युवाहरूले अबदेखि राजनीतिक दलका झण्डा बोक्ने र अन्धो भएर समर्थन गर्ने पुरानो परम्परालाई सदाका लागि तोडेको घोषणा गरे । उनीहरूको स्पष्ट अडान छ, “राजनीति अब व्यक्तिको प्रभाव वा विरासतमा होइन, विचारको उत्कृष्टता र कार्यसम्पादनको मूल्याङ्कनका आधारमा हुनुपर्छ । हामी योग्य उम्मेदवारलाई स्वतन्त्र र विवेकपूर्ण रूपमा समर्थन गर्न तयार छौं।”
युवाहरूको यो शान्तिपूर्ण, सशक्त र उद्देश्यपूर्ण अभियानलाई कार्यक्रममा उपस्थित प्रहरी अधिकारीहरू र स्थानीय नागरिकहरूले समेत खुलेर स्वागतयोग्य कदमका रूपमा लिएका छन् । ‘लमजुङ शक्त्ति नेपाल’ अभियानका युवाहरूले सामूहिक रूपमा दृढतापूर्वक उद्घोष गरेस् “अब हाम्रा हातमा पार्टीको झण्डा होइन, राष्ट्रिय एकताको प्रतीक राष्ट्रको झण्डा हुनेछ। विकासका लागि खोक्रो नारा होइन, निस्वार्थ सेवा र निष्ठापूर्ण कार्य चाहिन्छ।”
उनीहरूले आगामी दिनहरूमा यस जागरण अभियानलाई लमजुङ जिल्लाका ८ वटा पालिका र ७५ वटै वडामा स्वतन्त्र युवाहरुलाई शक्त्तिशाली र संगठित रूपमा विस्तार गर्दै आगामी दिनमा लमजुङ भ्रष्ट्राचार रहित समाज र शुसासनले भरिएको प्रशासनको नारालाई व्यबहारीक रुपमा लागु गरि समुन्नत र विकासले भरिएको लमजुङ बनाउने सपना देखेका छन ।
