असोज ३ गते नै नयाँ पासपोर्ट बनाएको थियो देउवा दम्पतीले
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणाले यही असोज ३ गते, शुक्रबार नयाँ पासपोर्ट (राहदानी) निकालेको थाहा भएको छ।
उनीहरूले नयाँ पासपोर्ट बनाएको सूचना सरकारले केही दिन अगाडि नै पाइसकेको एक उच्च स्रोतले जनायो। स्रोतका अनुसार उनीहरूको पासपोर्टमा थाइल्यान्डको भिसा पनि लागिसकेको छ।
भदौ २४ मा बुढानीलकण्ठस्थित देउवाको घर तोडफोड र आगजनी हुँदा उनीहरूको पासपोर्ट जलेको वा हराएको अनुमान गरिएको छ।
देउवा दम्पती उपचारका लागि वा अरू कुनै कारण देखाएर विदेश जान सक्ने भन्दै सरकारले सुरक्षा संयन्त्रलाई सतर्क पनि गराएको थियो।
यसैबीच सम्पत्ति शुद्धीकरण विभाग, नेपाल प्रहरीको सिआइबी र राहदानी विभागले उनीहरूको पासपोर्ट रोक्का गर्नेबारे छलफल गरिरहेको स्रोतले बतायो।
सम्पत्ति शुद्धीकरण विभागले राहदानी विभागलाई पत्राचार गर्यो भने उनीहरूको पासपोर्ट रोक्का हुन सक्छ।
राहदानी ऐन २०७६ को दफा १२ मा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको छानबिन गर्न अनुसन्धान अधिकारीले राहदानी जारी नगर्न वा रोक्का राख्न लेखेर पठाउन सक्नेछ।
केही दिन अगाडि सम्पत्ति शुद्धीकरण विभागको टोलीले देउवा निवासबाट मुचुल्का उठाएको थियो। देउवा निवासमा पैसा भेटिएको भिडिओहरू सार्वजनिक भएपछि त्यसबारे छानबिन गर्न सम्पत्ति शुद्धीकरण विभागको टोली मुचुल्का उठाउन पुगेको हो।
पूर्वऊर्जामन्त्री दीपक खड्काको घरबाट प्रदर्शनकारीले पैसा फाल्दै गरेको भिडिओ पनि सार्वजनिक भएको थियो। यसपछि विभागको टोली त्यहाँ पनि मुचुल्का उठाउन पुगेको थियो।