प्रधानमन्त्री ओलीविरुद्धको रिटमा कागजात झिकाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने भन्दै परेको रिटमा कागजात झिकाउने आदेश दिएको छ ।
अधिवक्ता वीरेन्द्र केसीले दायर गरेको रिटमाथि बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा सुनुवाइपछि यस्तो आदेश आएको हो ।
नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हकमा सर्वोच्चले कागजात झिकाउन भनेको हो । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय पौडेल र निरौलाले नाउपाबाट सरकारलाई दिइएको समर्थन फिर्ताको पत्र, मन्त्री चौधरीले बुझाएको राजीनामा पत्र लगायत कागजात झिकाउने आदेश दिएका हुन् ।
तर उसभामुख इन्दिरा राना मगरलाई हटाउने कसरतमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले ४ भदौमा फेरि सरकारलाई समर्थन दिइसकेकी छन् ।