राजावादीको पहिलो चरणको आन्दोलन सम्पन्न
राजतन्त्र पुनः स्थापनाको माग गर्दै व्यवस्था विरोधी समूह संयुक्त जनआन्दोलन समितिको आह्वानमा सुरु गरिएको एक हप्ते आन्दोलनको पहिलो चरण मङ्गलबार सम्पन्न भएको जानकारी गराइएको छ। आन्दोलनका आयोजकहरूले सरकारको हस्तक्षेप र दमनका बाबजुद आन्दोलन उत्साहजनक र जनसमर्थनयुक्त भएको दाबी गरेका छन्।
आन्दोलन समितिका संयोजक नवराज सुवेदीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा आन्दोलनमा सहभागी सम्पूर्ण स्वाभिमानी नेपाली नागरिकप्रति आभार प्रकट गरिएको छ। विज्ञप्तिमा सरकारले आन्दोलनको स्वतन्त्र अभ्यासमा अवरोध पुर्याएको आरोप पनि लगाइएको छ।
विज्ञप्तिअनुसार पहिलो चरणको आन्दोलनको समीक्षा गर्दै आगामी रणनीति तय गर्न समितिले जेठ २१ गते बुधबार नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा बैठक बोलाएको छ। दिउँसो २ बजेका लागि तय गरिएको सो बैठकमा समितिमा आबद्ध ४४ वटा राजनीतिक दल, समूह र अभियानका प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ ।
दोस्रो चरणको आन्दोलन थप सङ्गठित र सशक्त बनाउने राजावादी समूहको दाबी छ। संयुक्त जनआन्दोलन समितिले पछिल्लो समय राजसंस्थाको पुनः स्थापना, हिन्दु राष्ट्रको पुनः स्थापना र राष्ट्रवादको संरक्षणका नारासहित आन्दोलन गर्दै आएको छ।