बारामा २२५ किलो गाँजासहित ४ जना पक्राउ
बारा आदर्श कोतवाल गाउँपालिकाबाट प्रहरी गस्ती टोलीले २२५ किलो लागुऔषध गाँजा लोड गरिएको ट्याक्टरसहित ४ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ट्याक्टर चालक आदर्शकोतवाल ३ बाँतरा बस्ने वर्ष ३० को नन्दकिशोर मुखिया बिन, गाँजा तस्करहरू हेटौडा नगरपालिका ४ बस्ने वर्ष २१ को कमाण प्रजा, मकवानपुर कैलास गाउँपालिका ४ देवतिस बस्ने वर्ष २४ को सिताराम प्रजा ,मकवानपुर बकैया गाउँपालिका ५ छतिवन बस्ने वर्ष २२ को नवराज मगर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।
आदर्शकोतवाल ३ बाँतरा गाउँ छेउ खेतमा पार्किङ गरी राखेको प्र.२-०३-००१त ४८७६ नं. को ट्याक्टरको ढालामुनि फल्स बटन बनाई गाँजा लुकाई छिपाई राखिएको छ भन्ने प्रहरीलाई गोप्य सूचना प्राप्त भएको थियो। लगत्तै शुक्रवार साँझ इलाका प्रहरी कार्यालय बारागढी बाट इन्स्पेक्टर कुसुम नायकको कमान्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ट्याक्टरको ढालामुनि फल्स बटन बनाइएको ठाउँमा प्लास्टिकले बेरिएको गाँजा १५ वटा काटुनमा २२५ किलोग्राम बरामद गरेको थियो।
गाँजा र ट्याक्टरसहित चालक नन्दकिशोर मुखिया बिनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दै जाँदा थप ३ जनाको संलग्नता रहेको देखिएको थियो। प्रहरीले कोल्हवी बजार स्थितमा रोज उड होटेलको कोठा नम्बर ३०३ मा छापामारी गाँजा तस्कर तीनैजनालाई पक्राउ गरेको थियो।
बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङको निर्देशनमा प्रहरीले सञ्चालन गरेको लागुऔषध कारोबार नियन्त्रण अभियान निकै प्रभावकारी देखिएको जानकारहरूले बताएका छन्।