धनकुटामा ४ सय भन्दा बढी किलो गाँजा बरामद
धनकुटामा सशस्त्र प्रहरी बलले ४ सय २१ किलो गाँजा बरामद गरेको छ। बुधबार बिहान साँगुरीगढी गाउँपालिका-६ नमस्ते झरनास्थित कोशी लोकमार्गमा कारबाट उक्त गाँजा बरामद भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
धनकुटाबाट धरानतर्फ जाँदै गरेको को २ प १७३४ नम्बरको कारलाई चेकप्वाइन्ट बनाएर बसिरहेको सशस्त्र प्रहरी बलको टोली रोक्न खोजेको थियो। रोक्न खोज्दा कार सशस्त्र प्रहरी बललाई छलेर भागेको हो।
भागेको कारलाई सशस्त्र प्रहरी बलले पिछा गरेको र अनियन्त्रित भई भित्तामा ठोक्किएको डिएसपी थापाले बताए। दुर्घटना पछि चालक पनि घटनास्थलबाट फरार भएको थियो।
कार भित्र १२ वटा पोकामा ४ सय २१ किलो गाँजा फेला परेको हो।
कार र गाँजा सशस्त्र प्रहरी बलले अनुसन्धानका लागि प्रहरीलाई बुझाउने तयारी गरेको छ।