रारा ताल किनारको डाँफे होटलमा आगलागी
मुगुस्थित रारा ताल किनारमा रहेको डाँफे होटलमा आगलागी भएको छ । बुधबार राति ११ बजेतिर आगलागी भएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुमार न्यौपाने बताए ।
‘आएको पाहुनाहरू सबै सुतिसकेका रहेछन्, भान्साको काम सकेर होटेल कर्मचारी निस्कनुभयो,’ उनले भने, ‘त्यही भान्साबाट आगो सुरु भएर सबै सामानहरू जलेर नष्ट भयो । मानवीय क्षति भने भएको छैन ।’
उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली त्यहाँ पुगेर आगो नियन्त्रण गरिसकेको छ । नेपाल प्रहरीको टोलीले मुचुल्का उठाउने काम गरिरहेको छ ।
नजिकै ताल भएपनि सामग्री हुँदा नियन्त्रण गर्न कठिनाइ हुँदा सबै जलेर नष्ट हुन पुगेको उनले बताए । उक्त होटेल पूर्व सांसद गोपाल बमको हो । यो होटेल रारा ताल किनारको एकमात्र होटेल हो ।