मर्स्याङ्दीमा खसेको भारतीय यात्रुबाहक बसलाई निकालियो बाहिर
तनहुँको आबुखैरेनी गाउँपालिका-४ स्थित ऐना पहराबाट मर्स्याङ्गदी नदीमा खसेको भारतीय यात्रुबाहक बसलाई क्रेनको सहायताले नदीबाट १० मिटर बाहिर ल्याइएको छ।
शनिबार सशस्त्र प्रहरी बल नेपाल नं. २३ मनकामना गण भानु तनहुँ र विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा गएको ५२ जनाको सुरक्षा फौजले बसलाई पानी बाहिर निकालेको डिएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
शुक्रबार पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय यात्रुबाहक बस दुर्घटना हुँदा २७ जनाको मृत्यु र १६ जना घाइते भएका थिए।
आज भारतीय एयर फोर्सको जहाजले चितवनबाट शव लिएर स्वदेश फर्किएको छ। घाइतेहरूको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको उनले बताए।