संसदमा एमाले र माओवादी मुखामुख
काठमाडौं । असार १७ गते प्रतिनिधि सभा बैठकमा नेकपा एमाले र माओवादी केन्द्रका सांसदरु सत्तापक्षको बेञ्चमा सँगै थिए । पाँच दिनपछि आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा एमाले सांसदहरुको ठाउँ फेरियो ।
नेपाली कांग्रेससँग मिलेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने तयारीका साथ सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमालेका सांसदहरु आइतबार प्रतिपक्षी बेञ्चमा बसे ।
आसन फेरिएसँगै दुई दलका सांसदहरुले एकअर्कोप्रति आशंका र अविश्वास प्रकट गरे । एमाले सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागे । अल्पमतमा परिसकेपछि पनि सत्तामा बसिरहेको भन्दै आशंका गरे । अनि, सत्तारुढ माओवादी सांसदहरुले त्यसको प्रतिवाद गर्दै नयाँ गठबन्धनप्रति त्यस्तै आशंका गरे ।
प्रतिनिधि सभामा शून्य समयमा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री प्रचण्डले राजीनामा मागे ।
शून्य समयमै माओवादीका सांसद लेखनाथ दाहालले जवाफ फर्काए, ‘कसैले चाहँदैमा राजीनामा आउँदैन । तपाईंहरुको इच्छाले राजीनामा प्राप्त हुँदैन ।’ संवैधानिक प्रावधान अनुसार सरकार अगाडि बढ्ने भन्दै उनले प्रधानमन्त्रीले विश्वासको मत लिने दिन असार २८ सम्म पर्खिन आग्रह समेत गरे ।
एमालेका सांसद रघुजी पन्तले राजनीतिमा नैतिकता हुने भन्दै त्यसको ख्याल गर्न प्रधानमन्त्रीलाई सुझाव दिए ।
संविधानले विश्वासको मत लिन ३० दिन समय दिएको भएपनि प्रधानमन्त्रीले स्पष्ट रुपमा बहुमत गुमाएकाले भावी राजनीतिलाई ख्याल गरेर पदमा रहन नहुने उनले बताए ।
‘उहाँलाई संविधानले समय दिएको छ । विश्वासको मत लिन्छु भन्ने अधिकार दिएको छ । तर, नैतिक पक्ष त्यो होइन’, सांसद पन्तले भने ।
माओवादीका सांसद दाहालले आफूहरुलाई नैतिकताको पाठ नसिकाउन आग्रह गरे । ‘संवैधानिक प्रावधान अनुसार विश्वासको मत खोज्नु अनैतिक हो ?’, उनले भने ।
एमाले सांसद पन्तले भने आफूले छाडेपछि संविधानको कुन धारा अनुसार सरकार बन्छ भन्ने चिन्ता नलिन प्रधानमन्त्री प्रचण्ड र माओवादी केन्द्रलाई सुझाए । ‘अल्पमतमा परिसकेपछि दुई मा जान्छ कि तीनमा जान्छ (संविधानको धारा ७६(२) कि ७६(३)? यो राष्ट्रपतिज्यूको चिन्ताको विषय हो । प्रधानमन्त्रीको काम बहुमत नभइसकेपछि तत्काल राजीनामा गरेर बाटो फुकाउने हो’, पन्तले भने ।
संविधानको धारा ७६ मा सरकार गठन सम्बन्धी व्यवस्था छ । ७६(१) मा एकल बहुमतको सरकार, ७६(२) मा दुई वा दुई भन्दा बढी दलको सरकार र ७६(३) मा सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको नेतृत्वको सरकार गठन हुने व्यवस्था छ ।
७६(२) अनुसार गठन भएको प्रचण्ड नेतृत्वको सरकार राजनीतिक रुपमा अल्पमतमा परेको छ । २८ गते विश्वासको मत नपाए उनी स्वतः पदमुक्त हुनेछन् । तर त्यसपछि ७६(३) अनुसार संसदको सबभन्दा ठूलो दलको नेताको हैसियतमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने माओवादीको तर्क छ ।
माओवादी केन्द्रका सांसद माधव सापकोटाले संविधानको धारा ७६(३) मा लेखिएको व्यवस्था पढेर सुनाए ।
जहाँ भनिएको छ, ‘प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ ।’ यो व्यवस्था अनुसार ७६(२) को प्रधानमन्त्रीले विश्वासको मत पाउन नसके ७६(३) अनुसारको सरकार बन्न सक्ने सांसद सापकोटाको तर्क छ ।
‘…राष्ट्रपतिले गर्न सक्नेछन् यस्तो कुरा छैन । गर्नेछन् भन्ने छ । प्रधानमन्त्रीज्यूले संसदमा विश्वासको मत प्राप्त गर्न सके यो सरकार अगाडि जान्छ । विश्वास गुमाउनुभयो भने ७६ को उपधारा ३ बमोजिम नयाँ सरकार बन्छ’, उनले भने, ‘तपाईंहरुले भने जस्तो सजिलो मार्गप्रशस्त हामीले गरिदिनुपर्ने ?’
संविधान संशोधनप्रति आशंका
संसदको दुई ठूला दल कांग्रेस र एमालेबीच संविधान संशोधनसहितका विषयमा मिलेर जाने र आलोपालो सरकारको नेतृत्व गर्ने सहमति १७ असारको मध्यरातमा सम्झौता भएको थियो ।
यो सम्झौतालाई नेकपा एमालेका सचिव योगेश भट्टराईले इतिहासको आवश्यकताको रुपमा व्याख्या गरे । ‘यो मुलुकमा यस्ता केही ऐतिहासिक क्षण आउने गरेका छन् । यसलाई कतिपयले असामान्य भनेका छन् भने कतिपयले परिस्थितिको आवश्यकता भनेर व्याख्या गरेका छन्’, सचिव भट्टराईले भने, ‘सामान्यतया संसदीय व्यवस्था भएका मुलुकमा दुईवटा प्रमुख दलबीच सत्ता साझेदारी स्वभाविक मानिदैन । र यो पटक पटक गर्ने विषय पनि होइन ।’
विगतमा देश संकटमा परेका बेला कांग्रेस र एमाले मिलेर अगाडि बढेको उल्लेख गर्दै उनले २०४६ सालको आन्दोलन र २०४७ संविधान निर्माण सम्झिाए । माओवादी सशस्त्र विद्रोहलाई शान्तिपूर्ण बाटोमा फर्काउन र संविधानसभाबाट संविधान बनाउन पनि कांग्रेस र एमाले मिलेको भन्दै उनले अहिले संविधान पुनरावलोकन गर्ने बेला पनि आफूहरु एक ठाउँमा आएको बताए ।
प्रधानमन्त्री प्रचण्डले समीकरण फेरिरहँदा राजनीतिक अस्थिरता भएको भन्दै उनले भने, ‘हामीले विचार गर्यौं कि फेरि एमाले बाहिर बस्ने, कांग्रेस उहाँसँग साथमा जाने, कांग्रेस बाहिर जाने, फेरि एमाले भित्र जाने, यो रोटेपिङले देशलाई कहीँ पनि पुर्याउँदैन, घुमिफिरी रुम्जाटार भनेजस्तै पुष्पकमल दाहालको कुुर्सी केही समय लम्बिन्छ तर मुलुकको समस्या जहाँको त्यहीँ हुन्छ ।’