प्रतिनिधि सभाको बैठकमा बजेट माथिको छलफलमा अध्यक्ष लिङ्देनले अर्थमन्त्री पुन किन खोजे ?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अर्थमन्त्री वर्षमान पुनलाई खोज्नुभएको छ ।
प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा अध्यक्ष लिङ्देनले अर्थमन्त्री पुनलाई खोज्नुभएको हो । बजेट माथिको छलफलमा अर्थमन्त्रीलाई नदेखेको भन्दै उहाँले बोल्न समेत मान्नुभएन । उहाँले भन्नुभयो,-‘सत्तापक्षले छलफल गरेरै ल्याएको होला । हामीले त सुनाउने यहिं हो । त्यसैले उहाँ आए पछि मात्रै मेरो कुरा राख्छु ।’
उपभामुख इन्दिरा रानाले अर्थमन्त्री पुन राष्ट्रिय सभामा गएको जवाफ दिएपनि आफ्नो कुरा कसलाई सुनाउने भन्दै अध्यक्ष लिङ्देनले प्रतिप्रश्न समेत गनुभयो।
उपभामुख रानाले खानेपानीमन्त्री सदनमै उपस्थित रहेको भन्दै आफ्नो कुरा राख्न अनुरोध गर्दा पनि अध्यक्ष लिङ्देन नमान्नुभएको हो ।
सभामुख देवराज घिमिरेले अध्यक्ष लिङ्देनलाई आफ्नो सिटमा बस्न आग्रह गर्नुभयो। त्यसपछि संसद बैठक १५ मिनेटका लागि सभामुख देवराज घिमिरेले स्थगित गर्नुभएको थियो ।