प्रतिनिधि सभाको बैठकमा आज बजेटको शीर्षकमाथि मन्त्रालयगत रूपमा छलफल गरिंदै
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार बिहान बस्ने भएको छ ।
नयाँ बनेश्वरस्थित संघीय संसद भवनमा बैठक मंगलबार बिहान ११ बजे बस्ने भएको हो । मंगलबारको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत छलफल हुने सम्भावित कार्यसूची रहेको छ।
मंगलबार वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको हो।
बैठकमा सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने भएको छ ।
त्यस्तै, सांसद अमरेश कुमार सिंहले उक्त मन्त्रालयहरु शीर्षकको खर्च रकम घटाइ एक रुपैयाँ गरियोस भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको हो ।यसैगरी सांसद पुष्पबहादुर शाह, बद्री पाण्डे, रमा कोइराला पौड्याल, र संजयकुमार गौतमले पनि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने भएका छन् ।
त्यस्तै, सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको हो ।