भारतमा आज लोकसभाको अन्तिम चरणको चुनावमा ८ राज्यका ५७ सिटका लागि मतदान हुँदै
एजेन्सी । भारतमा शनिबार सातौं चरणको चुनावमा मतदान हुँदैछ।
भारत लोकसभाको शनिबार अन्तिम अर्थात सातौं चरणको चुनावमा मतदान हुन लागेको हो। शनिबार ८ राज्यका ५७ सिटका लागि मतदान हुन लागेको छ। सातौं चरणको मतदान बीहार, हिमाचल, झारखण्ड, ओडिशा, पञ्जाब, उत्तर प्रदेश, पश्चिम बंगाल र चंडीगढ़ गरेर ८ राज्यका ५७ सिटका लागि हुन लागेको हो।
यसअघि छैठौं चरणमा ७ राज्यका ५७ सिटका लागि नयाँ दिल्ली, बीहार, हरियाणा, झारखण्ड, ओडिशा, उत्तर प्रदेश र पश्चिम बंगालमा मतदान भएको थियो। भारतमा पहिलो चरणमा २१ राज्यका १ सय २ संसदीय सिट, दोस्रो चरणमा १३ राज्यका ८९, तेस्रो चरणमा १२ राज्यको ९४, चौथो चरणमा १० राज्यका ९६ सिट र पाँचौ चरणमा ८ राज्यका ४९ सिटका लागि मतदान भएको थियो।
गत अप्रिल १९, २६, मे ७, १३, २० र २५ तारिखमा गरेर भारतमा यसअघि छैठौं चरणको चुनाव सकिएको हो। पहिलो चरणदेखि सातौं चरणसम्मका मतदान सम्पन्न भएपछि एकसाथ जुन ४ तारिखदेखि मतगणनाको काम शुरु हुने भएको छ।
उच्च गर्मीका कारण मतदान प्रभावित हुने देखिएको मौसम पूर्वानुमान विभागले जनाएको हो। अहिलेसम्म गर्मीका कारण भारतको बिहार र ओडिसामा मात्र १८ जनाको मृत्यु भएको छ ।