प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले संसदका दुवै सदनको संयुक्त बैठकमा जेठ १५ गते पेश गरेको बजेट लगातारको छलफलपछि मंगलबार बहुमतले पारित भएको हो । मंगलबार परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयका बजेट शीर्षकमा सांसद्ले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिनुभएको थियो ।
प्रतिपक्षी दलका ३१ सांसदले राखेको खर्च कटौतीको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिएको थियो । यसरी प्रस्तुत गरिएका सबै प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गरिएको छ ।
त्यस लगत्तै विनियोजन विधेयकका दफालाई निर्णयार्थ प्रस्तुत गरी बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभएको हो । त्यसपछि अर्थमन्त्री पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो ।
त्यसपछि सभा संचालन गरिरहनुभएकी उपसभामुख इन्दिरा रानाले विनियोजन विधेयक २०८१ बहुमतले पारित भएको घोषणा गर्नुभयो। सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको छ। छलफलका क्रममा बजेट सन्तुलित नभएको भन्दै सत्तापक्षकै सांसदले समेत असन्तुष्टि व्यक्त गरेका थिए।