नेपाल र भारतबीचको दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयन हुँदैछ: प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल-भारतबीचको दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयनमा महत्वपूर्ण उपलब्धी हाशिल हुने विश्वास व्यक्त गर्नुभएको छ ।
हेटौंडा सवस्टेसन उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै उहाँले विश्वास व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा भएको दीर्घकालीन विद्युत व्यापारको प्रारम्भिक सहमति र त्यसपछि भएको अन्तिम सम्झौताले नेपालमा रहेको अपार जलविद्युतको सम्भावनालाई विकास गर्न बजार सुनिश्चित गरेको बताउनुभयो ।
वर्षायाममा ६ महिना छिमेकी देश भारतर्फ विद्युत निर्यात भइरहेको पनि उहाँबो भनाइ छ । केही वर्ष हिउँदयाममा देखिने आन्तरिक विद्युत उत्पादन र मागबीचको आपूर्ति असन्तुलनको खाडल पूरा गर्न विद्युत आयात गर्नु परेको उहाँले बताउनुभयो । तर पनि यस वर्षदेखि विद्युतको खुद निर्यातकर्ता बन्ने अवस्था देखिएको प्रधानमन्त्री दाहालले बताउनुभएको छ।
विद्युत व्यापारबाट नेपालको विदेशी मुद्रा सञ्चितिमा सकारात्मक योगदान पुग्ने मात्र नभई नेपाल-भारतबीचको व्यापार घाटा कम गर्न योगदान पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।