भारतमा लोकसभा चुनावको मतगणना कार्य आजदेखि शुरू
एजेन्सी । भारतको लोकसभा चुनावको मतगणनाको काम मंगलबारदेखि शुरू हुने भएको छ ।
मतगणना स्थानीय समय अनुसार मंगलबार बिहान ८ बजेदेखि शुरु हुने भएको हो । ४५ दिन लगाएर केन्द्रशासितसहित २८ राज्यमा चुनाव भएको थियो । गत १९ अप्रिलबाट शुरु भएको मतदान ७ चरणमा गरी यहि जुन १ तारिखमा सम्पन्न भएको हो ।
लोकसभाको कुल ५ सय ४३ स्थानका लागि ७ चरणमा मतदान भएको थियो । सत्तारुढ भारतीय जनता पार्टीले तेस्रो पटक केन्द्रमा जितका लागि पूरा शक्ति लगाएर चुनावी मैदानमा उत्रिएको हो । प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो पटक प्रधानमन्त्री बन्ने कसरतमा हुनुहुन्छ । यस पटक जिते भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुपछि मोदी लगातार तेस्रो पटक प्रधानमन्त्री हुने व्यक्ति हुनु हुने भएको हो ।
कांग्रेस नेता राहुल गान्धीको नेतृत्वमा इन्डिया गठबन्धनमा समाजवादी पार्टीका नेता अखिलेश यादव, आमआदमी पार्टीका संयोजक अरविन्द केजरिवालदेखि राष्ट्रिय जनता दलका नेता तेजस्वी यादवलगायत कैयौं विपक्षी नेताहरु भाजपालाई पराजित गर्नका लागि चुनावी मैदानमा उत्रिएका छन् । पश्चिम बंगालमा ममता बनर्जीदेखि महाराष्ट्रमा उद्धव ठाकेर र शरद यादव समेतका नेताहरु भाजपालाई चुनौती दिंदै आएका हुन् ।
९७ करोड मतदाता रहेको भारतमा यस पटकको चुनावमा अघिल्लो पटकहरु भन्दा कम मतदान भएको भारतको निर्वाचन आयोगले जनाएको छ ।