आर्थिक वर्षको नीति तथा कार्यक्रम आशा जगाउन सक्ने आएको छ: अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बजेटमा समावेश गर्न सके आशा जगाउने आएको बताउनु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार दिउँसो संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ढकालले नीति तथा कार्यक्रमका प्रतिवद्धता अनुसार सरकारले बजेट ल्याए निजी क्षेत्र सकारात्मक रहेको बताउनुभयो । नीति तथा कार्यक्रम राम्रो भए पनि सरकारले गर्ने कार्यान्वयनमा भर पर्नुपर्ने उहाँको तर्क छ ।
अध्यक्ष ढकालले सरकारले नीति तथा कार्यक्रममा निजी क्षेत्रसँग सहकार्य गर्ने धेरै कार्यक्रमहरु ल्याएको बताउनुभयो । सरकारले नीति तथा कार्यक्रममा कृषि र उत्पादनलाई प्राथमिकता राखिनु सकारात्मक भएको पनि उहाँले बताउनुभएको छ । बजेटमा सम्बोधन गरी कार्यान्वयनमा लैजानसके आशा जगाउने खालको कार्यक्रम रहेको उहाँको भनाइ थियो ।
सरकारले नीति तथा कार्यक्रमको प्रतिवद्धता र अर्थतन्त्रमा देखिएको शिथिलता हटाउने गरी अब बजेट आउनु पर्ने अध्यक्ष ढकालले उल्लेख गर्नुभएको हो ।