रामेछापमा डढेलोका कारण साढे ४ हजार हेक्टर वन सखाप
काठमाडौं । रामेछापमा १ महिनामा ८ वटा स्थानीय तहका १ सय ५५ स्थानमा डढेलोका कारण ४ हजार ५ सय हेक्टर वन सखाप भएको छ ।
सबै भन्दा बढी क्षति दोरम्बा शैलुङ गाउँपालिकामा भएको डिभिजन वन कार्यालय रामेछापले जनाएको हो । उक्त कार्यालयका वन अधिकृत ओमसागर भण्डारीका अनुसार अहिलेसम्म भएका आगलागीबाट १ सय ५५ सामुदायिक र कबुलियत वनमा क्षति भएको छ । धेरै वन क्षेत्रमा आगो लाग्दा वन्यजन्तु पनि प्रभावित भएका हुन् । यस वर्ष डढेलोमा परी जिल्लाका २ जनाले ज्यान गुमाइसकेका छन् ।
यसैबीच, स्थानीय प्रशासनले वनमा आगो नलागाउन तथा त्यसबाट हुने क्षतिको बारेमा सर्वसाधारणलाई अवगत गराएको हो । वनमा आगो लगाएमा फौजदारी अभियोग अन्तर्गत कारबाही हुने भएकाले वन र वन्यजन्तु संरक्षणतर्फ सचेत हुन समेत वन कार्यालयले आग्रह गरेको छ ।रामेछापमा डढेलोका कारण साढे ४ हजार हेक्टर वन सखाप