मकालु हिमालको आरोहण गरेर फर्किने क्रममा एक जना पर्वतारोहीको मृत्यु
काठमाडौं। संखुवासभामा रहेको विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहण गरेर फर्किने क्रममा एक जना पर्वतारोहीको मृत्यु भएको छ ।
आरोहण गरी फर्किने क्रममा पर्वतारोही सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका-४ का ५४ वर्षीय ल्हाक्पा तेञ्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको हो । मकालु हिमाल आरोहण गरी फर्कने क्रममा मकालु गाउँपालिका-२ र ३ को सीमानामा बेपत्ता भएका शेर्पाको शव शुक्रबार दिउँसो मकालु आधार शिविरमा फेला परेको प्रहरीले बताएको छ ।
घटनास्थलबाट शेर्पाको शव मुचुल्का पश्चात सोलुखुम्बु लगिएको प्रहरीले बताएको हो । यातायात र सञ्चार सेवा नभएका कारण मकालुक्षेत्र भौगोलिकरुपमा विकट मानिन्छ । घटनास्थल सदरमुकाम खाँदबारीदेखि ५ दिनको पैदल दूरीमा पर्दछ ।
पर्वतारोही शेर्पाको शव मुचुल्कापछि शनिबार नै सोलुखुम्बु लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।