सेयर बजारमा आज ९ दशमलव ५४ अंकको गिरावट
काठमाडौं । बुधबार भएको शेयर कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९ दशमलव ५४ अंकले घटेको छ ।
हप्ताको शुरुका ३ दिन लगातार उकालो लागेको शेयर बजार बुधबार भने ओरालो लागेको हो । दिनभरको उतार चढावकाबीच ९ दशमलव ५४ अंकले घट्दै नेप्से २ हजार १७ मा थामिएको छ । बजार घट्दा कारोबार रकम पनि खुम्चिएको हो। बुधबार अधिकांश उपसमूह ओरालो लागेको बजारमा उत्पादन र व्यापार उपसमूह भने दोहोरो अंकले बढेको छ ।
बुधबार भएको २ सय ४५ वटा कम्पनीको कारोबारमा १ सय ७१ वटा कम्पनीको शेयर मूल्य घटेको र ६६ वटाको भने बढेको छ । त्यस्तै, ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो । त्यस्तै, उपकार लघुवित्त संस्था र युनिक नेपाल लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ । गुराँस लघुवित्तका लगानीकर्ताले भने १० प्रतिशत नै गुमाएका हुन् ।
कारोबार रकमको आधारमा पिपुल्स पावर लिमिटेड र नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ। बुधबार ३ सय १५ कम्पनीको ८४ लाख कित्ता शेयर ३ अर्ब ७० करोड बराबरमा किनबेच भएको नेप्सेले जनाएको हो ।