संसदीय समिति बनाउनुपर्ने म माथि स्पष्ट आधार छैन: गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले जिम्मेवार भएर प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
सभामुख देवराज घिमिरेले सिंहदरबारमा प्रमुख दलका शीर्ष नेताहरुसँग गर्नुभएको छलफलपछि मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । गृहमन्त्री लामिछानेले देशमा धेरै बेथिति विसंगति रहेको बताउदै अब त्यसलाई अन्त्य गर्नका लागि सबै दलहरु मिल्नुपर्ने बताउनुभयो । सरकार सहकारीको समस्या समाधान गर्न कटिवद्ध रहेको उहाँको भनाइ छ ।
सहकारीका समस्या समाधानका लागि सरकारले मन्त्रीपरिषदको बैठकबाट फास्ट ट्रयाकमा वचतकर्ताहरुको रकम फिर्ता गराउन फरार, दोषी र सम्पर्कमा नरहेका सञ्चालकहरुको सम्पत्ति जफत गरेर भएपनि वचतकर्ताहरुको पैसा फिर्ता दिने निर्णय गरिसकेको उहाँले बताउनुभयो ।
गृहमन्त्री लामिछानेले आगामी संसदको बैठकमा सो निर्णयलाई प्रस्तावको रुपमा लैजाने तयारी रहेको पनि बताउनुभएको छ । सहकारीको रकम हिनामिनामा आफ्नो बिरुद्ध कतैपनि मुद्दा दर्ता समेत नभएको भन्दै उजुरी हाल्नसाथ संसदीय समिति बनाउने भए र राजीनामा दिने हो भने आफू तयार रहेको उहाँले बताउनुभयो । समिति बनाउने स्पष्ट आधार नभएको उहाँको दावी रहेको छ ।
गृहमन्त्री लामिछानेले उजुरी गरेको भन्दैमा संसदमा हंगामा गर्न आवश्यक नरहेको समेत बताउनुभयो ।