देशैभरीका ५ लाख भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउने सरकारको घोषणा
काठमाडौं । सरकारले देशभरका ५ लाख भूमिहीन नागरिकहरुलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो । राष्ट्रपति पौडेलले ५ लाख भूमिहीनलाई आवास सुनिश्चित गर्नेगरी सरकारले काम गर्ने बताउनुभएको छ ।
सरकारले घोषणा गर्दै आएको भू–उपयोग सम्बन्धी नीति बनाउने र ३ तहका सरकारबीच सहकार्य बढाउँदै भूमिबाट अधिकतम लाभ लिने गरी काम गरिने उहाँले बताउनुभयो । ३ लाख हेक्टर कृषियोग्य जमिनमा सिंचाई सुविधा पु¥याउनेदेखि राष्ट्रिय गौरवका सिंचाईं परियोजना निर्माणमा जोड दिने पनि उहाँले बताउनुभएको छ ।
राष्ट्रपति पौडेलले सरकारले मालपोत र नापीसम्बन्धी आधारभूत सेवा स्थानीय तहबाटै एकीकृत रूपमा अनलाइनमार्फत प्राप्त हुने व्यवस्था मिलाइने बताउनुभयो । घरजग्गा कारोबारलाई व्यवस्थित गर्न तथा मूल्यांकन प्रणालीलाई वैज्ञानिक बनाउन कानूनी र संरचनागत सुधार गरिने समेत उहाँले बताउनुभएको छ ।