१२४ जनालाई वैदेशिक रोजगारीमा पठाउने भनेर ४ करोड बढी ठगी गर्ने ४ जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा टर्की पठाउने भनेर ४ करोड रुपैयाँ भन्दा बढी ठगी गर्ने व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी ठगी गर्नेहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो । टर्कीको युएन मिसन कार्यालयमा वर्क पर्मिटमा कामदार पठाउने र त्यहाँ पुगेपछि आकर्षक तलब हुने प्रलोभन देखाएर १ सय २४ जनाबाट ४ करोड ३४ लाख रुपैयाँ उठाएर फरार रहेका विनोद श्रेष्ठलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले श्रेष्ठलाई काठमाडौं-७ चाबहिलबाट पक्राउ गरी अनुसन्धन अघि बढाइएको बताउनुभयो । ४२ वर्षीय श्रेष्ठ कास्की पोखरा महानगरपालिका-५ का रहेको पनि उहाँले बताउनुभएको छ ।
त्यस्तै, अमेरिका र क्यानडा लैजाने भनेर मानव तस्करी गरी ठगी गर्ने मुख्य गिरोहका थप ३ जनालाई पनि पक्राउ गरी सार्वजनिक गरिएको प्रमुख भट्टराईले बताउनुभयो । उहाँले पक्राउ पर्नेमा जिल्ला ओखलढुंगा, खिजिदेम्बा गाउँपालिका-२ का वर्ष ४८ का जगतबहादुर तामाङ, जिल्ला तनहुँ ऋषिजंग गा.पा.-२ का वर्ष ४६ का विष्णुबहादुर बराली र वर्ष ४८ का तनहुँ ऋषिङ्ग गा.पा. २ का जंगबहादुर बिक (बराल) लाई पक्राउ गरी सार्वजनिक गरेको बताउनुभएको छ ।
उनीहरुले अमेरिका लैजाँदा दुबई ट्रान्जिट बनाएर केन्या र युगाण्डा लगेर राहदानी तथा डल खोसी ९ महिनासम्म अलपत्र पारी राखेको उहाँले बताउनुभयो । केन्या, युगाण्डामा समेत एजेण्ट राख्ने गरेको, अमेरिका पुर्याउन ब्राजिल, कोलोम्बिया, मेक्सिको मध्ये कुनै एक रुट प्रयोग गर्ने गरेको र पक्राउ परेका ३ जना भरतको दिल्ली पहाडजंगस्थित होटलमा बसी संगठित रुपमा मानव तस्करीमा संलग्न रहेको पनि उहाँले बताउनुभएको छ ।
त्यस्तै, प्रहरीले विभिन्न अनलाइन बेटिङ साइटमा सट्टेबाजी गर्ने र क्रिप्टोकरेन्सी कारोबार गर्नै एक जना व्यक्तिलाई पनि पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर-८ का २४ वर्षीय अनिल ढुंगाना रहेको प्रमुख भट्टराईले बताउनुभयो । ढुंगानाले विभिन्न माध्यमबाट २ अर्ब १ करोड बढीको कारोबार गरेको खुलेको उहाँले बताउनुभएको छ ।
११ वटा कनेक्ट आइपीएसमा ५५ वटा बैंक खाता लिंक गरी ४८ करोड ८० लाख बढी रकम कारोबार गरेको खुलेको उहाँको भनाइ थियो । १५ वटा वालेटहरु प्रयोग गरी ५ करोड भन्दा बडी रकम कारोबार गरेको, ५६ वटा बैंक खाता प्रयोग गरी ६१ करोड ६४ लाख बढी कारोबार गरेको भेटिएको उहाँले बताउनुभयो ।
पक्राउ पर्नेहरुलाई नेपालको कानून अनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख भट्टराईले बताउनुभएको छ ।