इलाम-२ बाट निर्वाचित सुहाङ नेम्वाङले आज सांसद पदको शपथ लिंदै
काठमाडौं । यहि वैशाख १५ गते इलाम-२ मा सम्पन्न भएको उपनिर्वाचनमा विजयी हुनुभएका नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने भएको छ ।
नेम्वाङको सांसद पदको शपथ ग्रहण कार्यक्रम बुधबार बिहान ११ बजे सिंहदरबारस्थित कृषि समितिको हलमा हुने तय गरिएको संघीय संसद सचिवालयले जनाएको हो । इलाम-२ मा २७ हजार ७ सय ७२ मत प्राप्त गरेर प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको थियो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गर्नुभएको थियो । कांग्रेसका उम्मेदवार खड्का भन्दा नेम्वाङ ५ हजार ७ सय ८० मतान्तरसहित विजयी हुनुभएको हो ।