त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणको सुनसहित २ जना पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणको सुनसहित २ जना विदेशी नागरिक पक्राउ परेका छन्।
विमानस्थल प्रहरीका अनुसार ५ किलो १ सय ग्राम सुनसहित २ जना भारतीय नागरिक पक्राउ परेका हुन्। आइतबार राति विमानस्थल प्रहरीले चेक गर्ने क्रममा ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार गणेशलाई सुनसहित पक्राउ गरेको छ। पक्राउ परेका सुरेश कुमार र मोहन कुमारले लगाएको टी–सर्ट, पेन्टी र जिन्स पाइन्टमा लेपन गरिएको अवस्थामा सुन प्रहरीले बरामद गरेको हो ।
सुरेशबाट कपडासहित २ किलो ६ सय ग्राम र मोहनबाट कपडासहित २ किलो ५ सय ग्राम सुन बरामद भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिनुभयो। उनीहरु फ्लाई दुबईको उडान नम्बर एफजेड ५७५ को विमानबाट आइतबार राति पौने ७ बजे काठमाडौंमा ओर्लिएका थिए।
भन्सार चेकिङबाट स्वागतद्वार नजिक शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।