देशका अधिकांश स्थानमा आज पनि मेघगर्जन/चट्यांगसहित वर्षा र हावाहुरीको सम्भावना
काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
बिहीबार बिहान कोशी र मधेश प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रहेको हो । साथै बाँकी तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहीबार दिउँसो भने कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली हुने भएको हो । त्यस्तै, बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा हुने भएको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्का वर्षा-हावाहुरीको सम्भावना रहेको हो । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी/हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।
बिहीबार राति भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली हुने भएको हो । बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा हुने भएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्का वर्षा र हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको हो।