प्यालेस्टाइनलाई मान्यता दिने मुलुकलाई इजराइलको कडा चेतावनी
एजेन्सी । इजराइलको विदेश मन्त्रालयले बिहीबार आयरल्याण्ड, नर्वे र स्पेनसँग इजराइलको सम्बन्धले ‘गम्भीर परिणाम’ को सामना गर्नुपर्ने चेतावनी दिएको छ ।
ती मुलुकका सरकारले आगामी हप्तादेखि प्यालेस्टाइनी राज्यलाई मान्यता दिने निर्णय गरेपछि इजराइलले यस्तो चेतावनी दिएको हो । मन्त्रालयको वक्तव्यमा शीर्ष अधिकारी ज्याकब ब्लिटस्टाइनलाई उद्धृत गर्दै भनिएको छ,-'ती मुलुकद्वारा लिइएको निर्णयपछि उनीहरूसँगको सम्बन्धमा थप गम्भीर परिणाम हुनेछ ।'बुधबार गरेको ती सरकारको कदमका लागि उनीहरूलाई ‘हप्काउन’ तीन मुलुकका राजदूतहरूसँगको भेटमा ब्लिटस्टाइनले त्यस्तो चेतावनी दिएका हुन् ।
भेटमा इजराइली अधिकारीहरूले ३ जना नै राजदूतलाई अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा ५ महिला सैनिकको अपहरणको भिडियो देखाएका थिए । बुधबार मिडियामा जारी गरिएको ३ मिनेटको क्लिपमा दक्षिणी इजराइलमा नाहल ओज बेसबाट पक्राउ परेपछि महिलाहरूलाई जमिनमा बसेको, केहीको अनुहारमा रगत लागेको र उनीहरूको हात बाँधिएको देखाइएको थियो ।
अभियान समूह होस्टेज एन्ड मिसिङ फ्यामिलिज फोरमले क्लिपका साथ एक विज्ञप्तिमा उक्त फुटेज आक्रमणका क्रममा हमास लडाकूहरूले बडी क्यामेरामा खिचेको २ घण्टाको भिडियोबाट लिइएको बताएको छ । बिहीबारको भेटमा ब्लिटस्टाइनले ‘प्यालेस्टाइनी राज्यलाई मान्यता दिने ती सरकारको विकृत निर्णयका लागि राजदूतहरूलाई हप्काएको’ मन्त्रालयको वक्तव्यमा उल्लेख गरिएको हो । उनले मान्यता दिने कमदले प्यालेस्टाइनी लडाकूहरूले गाजामा अहिले पनि राखेका बन्धकहरूको रिहाईका लागि सम्झौतालाई अघि बढाउन थप कठिन हुने बताएका छन् ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजकले गाजा द्वन्द्वका क्रममा कथित युद्ध अपराधलाई लिएर इजराइलका प्रधानमन्त्री र रक्षामन्त्रीसहित हमासका नेताहरूका लागि पक्राउ पूर्जी माग गर्ने बताएको केही दिनपछि ३ वटै सरकारबाट समन्वित घोषणा आएको हो ।
प्यालेस्टाइनलाई मान्यता दिन समर्थन जुटाउनका लागि धेरै मुलुकको भ्रमण गर्नुभएका स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले उक्त कदमले मध्यपूर्व द्वन्द्वका लागि २ वटा राज्य समाधानलाई पुनरजीवित गर्ने प्रयासलाई बलियो बनाउने बताका छन् ।
इजराइलले आक्रोशपूर्ण प्रतिक्रिया दिंदै ३ वटै मुलुकबाट आफ्ना राजदूतहरूलाई तत्काल फिर्ता बोलाएको हुन् । इजराइली प्रधानमन्त्री नेतान्याहुले प्यालेस्टिनी राज्यलाई मान्यता दिने धेरै युरोपेली मुलुकको मनसाय आतंकको प्रतिफल भएको बताएका छन् । सार्वभौम प्यालेस्टाइनी राज्य ‘आतंकवादी राज्य’ हुने उनको तर्क थियो ।