१३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसलाई आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं । १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस आज (बुधबार) नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।
यस वर्ष दिवसको नारा ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ तय गरिएको हो । सोही दिवस प्रत्येक वर्ष मे १ तारिखका दिन विश्वभर मनाउने गरिन्छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा श्रमिक दिवस मनाउन थालिएको हो ।
मजदुर आन्दोलन चर्कंदै गर्दा सन् १८८६ मा अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भएको थियो । सोही बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गरेको थियो । प्रहरीको गोली लागि ७ जना मजदुरको मृत्यु भएको थियो । मजदुर आन्दोलनले अन्ततः सफलता समेत हासिल गरेको विश्वमा इतिहास रहेको छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो ।
त्यसयता सन् १८९० देखि प्रत्येक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो ।विश्वका मजदुरले सोही दिवसलाई विशेष पर्वका रुपमा लिंदै गुणस्तरीय जीवन बिताउन आफ्ना सुविधाको समयानुकूल बढोत्तरी तथा आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दवाव दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।
नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक एवं श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा र योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई प्रत्याभूत समेत गरेको छ ।