पार्टी विभाजनविरूद्ध अदालत जान्छु: अध्यक्ष यादव
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध अदालत जाने बताउनुभएको छ ।
पार्टी विभाजनपछि उत्पन्न परिस्थितिको बारेमा जानकारी दिन बुधबार ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टी विभाजन गैरकानूनी र असंवैधानिक ढंगले रातारात निर्वाचन आयोगमा दल दर्ता गरेकाले त्यसका विरुद्ध अदालत जाने बताउनुभएको छ ।
अध्यक्ष यादवले पार्टीका नेता अशोक राईले नितान्त व्यक्तिगत स्वार्थका लागि संघीयता, लोकतन्त्र, गणतन्त्र, मधेश र पहिचानको मुद्दालाई धरापमा पार्नेगरी पार्टी विभाजन गरेकाले यसको कुनै औचित्य नरहेको आरोप समेत लगाउनुभयो । पार्टी विभाजन गर्ने काम असंवैधानिक भएकाले आफूहरुले अदालतमा गएर चुनौती दिने उहाँको भनाइ छ ।
अध्यक्ष यादवले आफ्नो पार्टीले वर्तमान सरकार ढालेर नेपाली कांग्रेस नेतृत्वमा अर्को सरकार बनाउने लागेको भन्ने भनाइ कपोलकल्पित, आधारहीन र प्रायोजित ढंगले चलाइएको अफबाह भएको बताउनुभयो । सरकारलाई दिएको समर्थन यथावत रहेको र त्यो कसरी अगाडि बढछ भन्ने कुरा परिस्थितिमा भर पर्ने उहाँले बताउनुभएको छ ।
अध्यक्ष यादवले अर्को सरकार बनाउने प्रयास आफूहरुले नगरेको दावी समेत गर्नुभएको भयो ।