राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस आज विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसलाई बिहीबार विविध कार्यक्रम गरेर मनाइँदैछ ।
मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष मे २ तारिखका दिन यस दिवसलाई मनाइने गरिएको हो । सोही दिवसका अवसरमा बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा विशेष समारोहको आयोजना गर्ने भएको छ ।
समारोहमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा योगदान गरेका व्यक्ति तथा संघसंस्था मध्येबाट सर्वोत्कृष्टलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको हो । सरकारले कृषि, पर्यटन र ऊर्जासँगै सूचना प्रविधिलाई पनि आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्वीकार गरी यसको विकास एवं प्रवर्द्धनका विविध कार्यक्रम कार्यान्वयन गर्दै आएको छ ।
सूचना प्रविधिको विकास र प्रयोगमार्फत मुलुकको सामाजिक-आर्थिक रुपान्तरण गर्ने योजनामा सरकार रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनुभयो ।