तनहुँमा विपन्न वर्गका विद्यार्थीलाई मासिक ५ हजार रूपैयाँ अध्ययन खर्च प्रदान
काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकाले २ जना चेपाङ समुदायका विद्यार्थीलाई अध्ययन खर्च बापतको रकम प्रदान गरेको छ ।
पालिकाले आँबुखैरेनी–५ का अमृत चेपाङ र सञ्जीव चेपाङलाई मासिक ५ हजार रुपैयाँका दरले अध्ययन खर्च दिएको हो । स्थानीय रामशाह माध्यमिक विद्यालयमा अमृत कक्षा ९ र सञ्जीव कक्षा ११ मा अध्ययनरत रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।
कार्यपालिकाको बैठकले विपन्न वर्गका चेपाङ विद्यार्थीलाई १२ कक्षासम्म अध्ययन गर्नका मासिक ५ हजारका दरले सहयोग दिने निर्णय भएबमोजिम उक्त रकम प्रदान गरिएको हो । अमृतलाई दोस्रो र तेस्रो किस्ता बापत मंसिरदेखि असारसम्म ८ महिनाको ४० हजार र सञ्जीवलाई यहि शैक्षिक सत्रको वैशाखदेखि असारसम्म ३ महिनाको १५ हजारको चेक हस्तान्तरण गरिएको छ ।
शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर गाउँपालिकाले रकम सहयोग गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । विपन्न विद्यार्थीका लागि खाद्यान्न र आवासबापत मासिक ५ हजारका दरले सहयोग गर्ने नीति गाउँपालिकाले अवलम्बन गरेको छ ।
चौध कार्यपालिका सदस्य र एक प्रमुख प्रशासकीय अधिकृतले मासिक बैठक भत्ता बापतको रकम शैक्षिक कोषमा जम्मा गरेका हुन् । १५ जनाको मासिक १ हजारका दरले १० महिनाको १ लाख ५० हजार शैक्षिक कोषमा जम्मा गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।
सोही जम्मा भएको रकम विपन्न वर्गका विद्यार्थीको अध्ययनका लागि खर्च गरिने उहाँको भनाइ छ ।