बागमतीसहित ५ प्रदेशमा आज मेघगर्जन/चट्यांगसहित वर्षा र हावा-हुरीको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु-स्थानीय वायु र भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।
बिहीबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको हो । साथै कोशी प्रदेशको केही स्थानमा मेघगर्जन/चट्यांग र हावाहुरीसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबार दिउँसो भने देशभर आंशिकदेखि साधारणतया बदली हुने भएको हो। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेश र बाँकी पहाडी तराईका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्का वर्षाको समेत सम्भावना रहेको छ। त्यस्तै, देशका उच्च पहाडी/हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको हो।
बिहीबार राति भने देशभर आंशिकदेखि साधारणतया बदली हुने भएको छ । कोशी, मधेश, बागमती, गण्डकी प्रदेश र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांग-हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको हो ।
त्यस्तै, कोशी, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी/हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।