कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिंदै
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार विश्वासको मत लिनुहुने भएको छ ।
विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको हो । ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ जनाको समर्थन आवश्यकता पर्छ। कोशीमा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका१३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद रहेका हुन्।
कार्की संविधानको धारा १६८ (५) अनुसार वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थिए । उहाँलाई एमालेका ३९ र माओवादीका १३ सांसदको समर्थन रहेको छ । तर निवर्तमान मुख्यमन्त्री केदार कार्कीले हिक्मत कार्कीको नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो । सोही रिटमा अदालतले अन्तरिम आदेश नदिए पनि आगामी जेठ ९ गते पूर्ण सुनुवाईका लागि पेशी तोकेको छ ।
मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध परेको रिट सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेको भन्दै कांग्रेसले सोमबारको प्रदेशसभा बैठक बहिष्कार गर्ने तयारी गरेको हो। सोही विषयमा निर्णय गर्न कांग्रेसले सोमबार बिहान ८ बजे संसदीय दलको बैठक बोलाएको छ।