म षडयन्त्रको शिकार भएकोमा कुनै शंका छैन: सन्दीप लामिछाने
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफू षडयन्त्रको शिकार भएको बताएका छन् ।
पूर्वकप्तान लामिछानेले बुधबार राति सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफू षडयन्त्रको शिकार भएकोमा कुनै शंका नरहेको बताएका हुन् । लामिछानेले आफूविरुद्ध षडयन्त्र गर्नेलाई भगवानले मूल्यांकन गर्ने उल्लेख समेत गरेका छन् । उनले सत्य तथ्य सबैकुरा समयसँगै बाहिर आउने समेत बताएका हुन् ।
पूर्वकप्तान लामिछानेले लेखेका छन्, -‘म लामो समय मौन रहेँ । म षडयन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन। यस षड्यन्त्रका लागि आफ्नो भूमिका निर्वाह गर्ने सबैलाई ईश्वरले कल्याण गरून्। सबै कुरा ईश्वरमा छोडिदिन्छु। समयले सत्य प्रकट गरेर बताउनेछ।’
नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार मात्रै आगामी टी२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको थियो । उच्च अदालतमा पूर्वकप्तान लामिछानेलेको मुद्दा विचाराधिन अवस्थामा भएका कारण विश्वकपको टोलीमा समावेश हुन समेत सकेनन् ।