खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड बजेट विनियोजन
काठमाडौं । सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ ।
मंगलबार संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सोही बजेट विनियोजन गरेको बताउनुभएको हो । उक्त रकम गत आर्थिक वर्षको तुलनमा यस पटक वृद्धि भएको हो । सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई गत वर्ष २ अर्ब ८७ करोड ५९ लाख बजेट छुट्याइएको थियो ।
आगामी आर्थिक वर्षमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट नतिजा भित्र्याउनका लागि राष्ट्रिय टिमको तयारीका साथै खेलाडीलाई प्रोत्साहन गरिने सरकारको योजना रहेको छ ।
यसैगरी, सरकारले आगामी आर्थिक वर्षमा विभिन्न विधाका ८० वटा राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने लक्ष्य लिएको हो । सरकारले सुर्खेतमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि ६० करोड बजेट विनियोजन गरेको छ ।
नेपालको मौलिक खेल एवं परम्परागत घोडाचढी, डन्डीबियो, बागचाललगायत खेलको प्रवर्द्धन गर्ने, आधुनिक प्रविधियुक्त ई–स्पोर्टसको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने, काठमाडौंको मूलपानी क्रिकेट रंगशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण गर्ने सरकारको लक्ष्य रहेको हो।
चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण संघ, प्रदेश र स्थानीयतहको साझेदारीमा निर्माण अघि बढाउनाका साथै खेलकुद पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखिने सरकारको योजना छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय रंगशाला र कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणलाई तीव्रता दिने सरकारको योजना रहेको हो । सरकारले खेल पूर्वाधार निर्माणतर्फ १ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ ।