पेट्रोल-डिजेल र मट्टितेलको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले बुधबार राति पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगम सञ्चालक समितिको बैठकले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७ र डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर १ सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १ सय ७० र तेस्रो वर्गका लागि १ सय ७१ कायम भएको छ । डिजेल र मट्टितेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः १ सय ५१ रुपैयाँ ५० पैसा, १ सय ५३ रुपैयाँ र १ सय ५४ रुपैयाँ पुगेको हो ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी, वीरगञ्जलाई पहिलो, सुर्खेत, दाङलाई दोस्रो, काठमाडौं, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गका रुपमा तोकेको छ । नयाँ मूल्य निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागूहुने भएको निगमले जनाएको हो ।
इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलिमय पदार्थको मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो । आइओसीले बुधबार पेट्रोलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ ७५ पैसा र डिजेलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ ९ पैसाले घटाएर नयाँ बिक्री मूल्य पठाएको निगमले जनाएको छ ।
