प्रधानमन्त्री दाहालको राजीनामा माग गर्दै डा. गोविन्द केसी २२औं आमरण अनशनमा
काठमाडौं । हाडजोर्नी विशेषज्ञ डा.गोविन्द केसीले २२औं आमरण अनशन शनिबारदेखि शुरु गर्नुभएको छ ।
केसीले यसपटक अनशनको माग प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा बनाउनुभएको हो । अनशन बस्न शुरु गर्नु अघि शनिबार दिउँसो एक विज्ञप्ति जारी गर्दै डा. केसीले १० वर्षे सशस्त्र द्वन्द्वकालमा वर्तमान प्रधानमन्त्री दाहाल मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न भएको दावी गर्नुभएको छ ।
२०५२ साल फागुन १ गतेदेखि २०६२/०६३ को जनआन्दोलनसम्म भएको १० वर्षे हिंसात्मक द्वन्द्वमा करिब १७ हजार नागरिकको ज्यान गएको थियो । तत्कालीन नेकपा माओवादी केन्द्रले सोही द्वन्द्वलाई ‘जनयुद्ध’ का रूपमा अघि बढाएको थियो । जनयुद्ध शुरु हुँदा महासचिव र पछि अध्यक्ष हुनुभएका दाहाल हाल देशका प्रधानमन्त्री हुनुहुन्छ ।
शनिबार अनशन थालेका डा. केसीले सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतमा दाहालले प्रधानमन्त्री पदबाट राजीना दिनुपर्ने माग राख्नुभएको हो । साथै, पीडितहरुले न्याय अनुभूत गर्नेगरी संक्रमणकालीन न्याय प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्नु पर्ने डा. केसीको माग रहेको छ ।