मधेश प्रदेशमा एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना छ: सरोज यादव
काठमाडौं । नेकपा एमाले मधेश प्रदेश सभाका संसदीय दलका नेता सरोजकुमार यादवले मधेशमा एमालेको नेतृत्वमा सरकार बनाउने सम्भावना रहेको बताउनुभएको छ ।
आइतबार मधेश प्रदेश सरकारलाई दिएको विश्वासको मत फिर्ता लिंदै सरकारबाट एमाले बाहिरिएसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता यादवले एमाले प्रदेश सभाको सबै भन्दा ठूलो दल भएकाले एमाले नेतृत्वको सरकार बनाउने सम्भावना रहेको बताउनुभएको छ ।
नेता यादवले आफूहरुले २ पटक अरुलाई मुख्यमन्त्री बनाएको भन्दै तेस्रो पटक भने आफूहरुकै नेतृत्वमा सरकार बन्न सक्ने बताउनुभयो । सरकार गठनका लागि अन्य राजनीतिक दलहरुसँग परामर्श गर्ने उहाँको भनाइ छ । आफूहरुले बहुमत सिद्ध गर्न नसके वर्तमान सरकारकै निरन्तरता हुने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो,-‘माथिल्लो समीकरण आजबाट जसपा, नेपालले समर्थन फिर्ता लिने संकेत गरेकोले जसपा, नेपालले संकेत गरिसकेपछि हामी पनि यहाँ किन बसिराख्ने भनेर हो । माथिल्लो गठबन्धनमा उहाँहरु नबसेपछि यहाँ हामी उहाँहरुको गठबन्धनमा बस्नुपर्छ भन्ने जरुरी ठानेनौं । बाँकी राजनीतिक दलहरुसँग परामर्श गर्छौ । नयाँ सरकार निर्माणको निम्ति गणपुरक संख्या हामीलाई पुगे हामीले सरकार निर्माण गर्ने हो । पुगेन भने यो सरकारको निरन्तरता चलिरहन्छ । उहाँहरुले बहुमत सिद्ध गरे उहाँहरु रहने हो । हामीले बहुमत सिद्ध गरे हामी रहने हो ।’
नेता यादवले संघीय गठबन्धनबाट जनता समाजवादी पार्टी जसपा नेपाल बाहिरिने संकेत गरेपछि आफूहरुले प्रदेश सरकारमा जसपा नेपाललाई समर्थन दिइराख्न उचित नठानेको बताउनुभयो । प्रदेश सरकार पनि संघीय गठबन्धन अनुरुपको बनाउने उहाँको भनाइ छ ।