जापानी विदेशमन्त्री योको भोलि नेपाल भ्रमणमा आउँदै
काठमाडौं । जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार नेपाल आउनुु हुने भएको छ ।
विदेशमन्त्री योकोले आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको हो । त्यस्तै, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि द्विपक्षीय औपचारिक वार्ता गर्ने तय भएको छ ।
सोही वार्तामा नेपाल–जापान सम्बन्धका सबै पक्षको बारेमा पुनरावलोकन हुने भएको हो । यस्तै, अन्तर्राष्ट्रिय मञ्चमा पनि सहयोग आदानप्रदानको बारेमा कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल र जापानबीच २०१३ साल भदौमा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । जापानबाट अहिलेसम्म ३ जना विदेशमन्त्रीले नेपाल भ्रमण गरेका छन् । योको चौथो हुनुहुन्छ ।
विदेशमन्त्री योको आइतबार साँझ नै स्वदेश फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको हो ।