देशका अधिकांश स्थानमा आज मेघगर्जन/चट्यांगसहित वर्षा र हावा-हुरीको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु-स्थानीय वायु र भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।
बुधबार बिहान देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको हो । त्यस्तै, बागमती र कोशी प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ । साथै बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
बुधबार दिउँसो भने देशभर आंशिकदेखि साधारणतया बदली हुने भएको छ । देशको पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्यांग हावा-हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो ।
त्यस्तै, तराईका केही स्थानहरूमा मेघगर्जन/चट्यांगसहित हल्का वर्षाको समेत सम्भावना रहेको छ। देशका उच्च पहाडी/हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको हो।
बुधबार राति भने देशभर आंशिकदेखि साधारणतया बदली हुने भएको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेश र बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांग-हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको हो।
त्यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी/ हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।