प्रधानमन्त्री दाहालले संसदको अवरोध अन्त्य गर्न कांग्रेस नेतासँग छलफल गर्दै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका नेताहरुसँग अहिले छलफल शुरु गर्नुभएको छ ।
प्रमुख प्रतिपक्ष दल कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै संसद अवरुद्ध गर्दै आएको हो । सोही अवस्थामा प्रधानमन्त्री दाहालले कांग्रेस नेताहरुसँग छलफल शुरु गर्नुभएको छ ।
संसदमा जारी अवरोध, कांग्रेसका माग, सरकारको नीति तथा कार्यक्रम पेश गर्ने लगायतका विषयमा कुराकानी गर्न कांग्रेस नेताहरुलाई बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । कांग्रेसले बजेट अधिवेशन शुरु भएको दिन शुक्रबारको संसद बैठक अवरुद्ध गरेको थियो । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बढाउनु पर्ने प्रमुख प्रतिपक्षी दल कांग्रेसको मागमा सत्ता पक्ष सहमत नहुँदा संसद चल्न सकेको छैन ।
आगामी जेठ १ गते आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी भइरहँदा छानबिन समिति गठनमा दुवै पक्ष आ–आफ्नो अडानमा अडिग रहेपछि प्रधानमन्त्री दाहालले समस्याको समाधान खोज्ने प्रयास गर्नुभएको हो।