सप्तरीमा भीषण आगलागी हुँदा १५० घर जलेर नष्ट, ७० लाखको क्षति
काठमाडौं । सप्तरीको महादेवा गाउँपालिका-१ मा मंगलबार साँझ भीषण आगलागी भएको छ ।
आगलागीबाट १ सय ५० वटा घर जलेर नष्ट भएको प्रहरीले बताएको हो। सोही गाउँपालिका-१ को चिम्टी टोलमा तीव्र गतिमा हावा चलेको समयमा आगलागी हुँदा ठूलो क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
स्थानीय शत्रुधन यादवको घरबाट सुरु भएको आगलागीले गाउँ नै जलेको वडाध्यक्ष जयकिशोर दासले बताउनुभएको हो । उहाँले यादव, मुसहर र मुस्लिम समुदायको बसोबास रहेको सोही बस्तीका अनुमानित १ सय ५० भन्दा बढी घर जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको वडाध्यक्ष दासले बताउनुभएको छ ।
यता राजविराज, शम्भुनाथ, हनुमाननगर कंकालिनी नगरपालिकाबाट आएको बारुण यन्त्रका साथै नेपाल प्रहरी र स्थानीयले आगो निभाउने काम गरिरहेका हुन् । आगलागी अहिले पनि भइरहेकोले थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । उक्त आगलागीमा करिब ६० देखि ७० लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।